हाम्रो चिनारी
2077-03-09
2077-03-09
नेपालको सुदूर पश्चिम प्रदेशका ९ जिल्ला मध्ये कैलाली तराईको जिल्ला हो । तराईको समथर भूभाग र पहाड मिश्रित भूगोल भएको यस जिल्लामा राज्यको पुन:संरचना पश्चात ६ वटा संसदीय निर्वाचन क्षेत्र (प्रतिनिधि सभा) र १२ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रका साथै १ वटा उप महानगर पालिका, ६ वटा नगरपालिका र ६ वटा गाउं पालिकाहरु गरी १३ वटा स्थानीइ तहहरु रहेका छन ।२८.२२" देखि २९.५" उत्तरी अक्षांश र ८०.३०" देखि ८१.१८" पूर्वि देशान्तरका वीच अवस्थित यस जिल्लाको कूल क्षेत्रफल ३२३५ वर्ग कि.मि. र जनसंख्या ७,७५,७०९ (२०६८) रहेको छ । जिल्लाको पूर्वमा कर्णाली नदी, वर्दिया र सुर्खेत, पश्चिममा कंचनपुर र डडेल्धुरा, उत्तर डोटी, डडेल्धुरा र सुर्खेत, दक्षिण मोहना नदी र भारतको उत्तर प्रदेश राज्य पर्दछ ।
जिल्लाको पूर्वि भेगको प्रशासनिक काम काज गर्न .२०४७ सालमा ईलाका प्रशासन कार्यालय टीकापुरको स्थापना भएको हो । हाल यो कार्यालय टीकापुर न.पा. वडा नं. १ स्थित वजार क्षेत्रमा रहेको छ । प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम हाल जिल्लाको पुर्वि दक्षिण भेकका ३ वटा नगरपालिका (टीकापुर, भजनी,लम्की-चुहा) र २ वटा गाउंपालिका (जानकी र जोशीपुर) क्षेत्रका नागरिकहरुलाई सेवा दिइ रहेको छ । जिल्लाको कूल भूगोलको २२ % ( ६९२.४२ व.मी.) क्षेत्रफल र ३७ % (२,८८,३५३ {२०६८ अनुसार}) जनसंख्या कार्यालयको कार्य क्षेत्र भित्र समेटिएको छ ।
पूर्व पश्चिम राष्ट्रिय राजमार्ग भन्दा करिव १४ कि.मी. दक्षिणमा रहेको टीकापुर क्षेत्रमा नेपाल कै सवै भन्दा ठूलो मानव निर्मित एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण उद्यान रहेको छ । हाल टीकापुर वृहद उद्यानका नामबाट चिनिने यस पार्क भित्र महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम गृह, रत्न उद्यान र ऐश्वर्य वाटिका पर्यटकहरुका लगि आकर्षणको केन्द्रका रुपमा रहेका छन ।करिव ८५ विगाह क्षेत्रफलमा फेलिएको यस उनमा झण्डै ४० भन्दा वढी प्रजातीका गुलाव फुल्ने हुदा जो कोहीका लागि पनि दृष्य मनमोहक हुन्छ ।पञ्चायती व्यवस्था स्थापना कालका तत्कालीन भूमि सुधार मन्त्री खड्ग बहादुर सिंहले टिकापुर क्षेत्रको व्यवस्थित वस्ती विकासको योजना (टाउन प्लानिङ्ग) अघि सारेका थिए । आज पनि टिकापुर व्यवस्थित र योजनावद्ध शहरको रुपमा परिचीत छ । शुरुमा 'वंगला' नामले चिनिने टीकापुर पार्कको व्यवस्था समेत वहांले नै गर्नु भएको थियो ।२०२४ सालमा तत्कालिन राजा महेन्द्र शुक्लाफांटा राष्ट्रिय निकुञ्जमा शिकार खेल्न आउदा विराम परी विश्रामका लागि उपयुक्त स्थलको खोजी हुदा कर्णाली किनारमा रहेको शान्त र मनोरम यो स्लको चयन गरिएको थियो ।२०२८ सालमा वृहद र व्यवस्थित पार्कको रुपमा विकास गरियो ।
यस कार्यालयले खास गरी आफ्नो कार्य क्षेत्र भित्रका नागरिकहरुलाई देहाय बमोजिम सेवा प्रदान गर्दै आएको छ -
- बंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र जारी गर्ने ।
- प्रतिलिपि नागरिकता जारी गर्ने ।
- नावालक परिचय पत्र जारी गर्ने ।
- राहदानी शिफारिस तथा जारी गर्ने ।
- ठाडो उजुरी सुनी सो उपर आवश्यक कारवाही गर्ने ।
- आपूर्ति व्यवस्थालाई सहज वनाई राख्न वजार अनुगमन गर्ने, कालो वजारी तथा तस्करी नियन्त्रण सम्वन्धी प्रारम्भिक कार्य गर्ने ।
- आफ्नो ईलाका भित्रका सरकारी कार्यालयहरुको निरीक्षण एवं सार्वजनिक सेवा वितरण कार्य छिटो छरितो र गुणस्तरीय तुल्याउन आवश्यक सहयोग,समन्वय र सहजीकरण गर्ने ।
- शान्ति सुव्यवस्था कायम राख्न प्रमुख जिल्ला अधिकारीलाई सहयोग गर्ने ।
- ईलाका भित्र पर्ने सुरक्षा निकायको काम कारवाही उपर रेखदेख, नियन्त्रण र सुपरिवेक्षण गर्ने ।
- विकास निर्माणका कार्यमा स्थानीय तहहरु लगायत सम्वद्ध पक्षको सहयोग, समन्वय र अनुगमन गर्ने ।
- गै .स.स. का काम कारवाहीका सम्वन्धमा अनुगमन, निरीक्षण, नियमन गर्ने, नवीकरण गर्ने ।
- सरकारी सम्पत्तिको रेखदेख, मर्मत सम्भार गर्न लगाउने ।
- स्थानीय तहहरुबाट शिफारिस भई आएका विविध व्यहोरा प्रमाणित गर्ने ।
- ईलाका भित्र अवैध मदिरा नियन्त्रण र नियमन सम्वन्धी कार्य गर्ने ।
- लागू औषध नियन्त्रण सम्वन्धी कार्यमा समन्वय गर्ने ।
- भैपरि आउने अन्य कार्य गर्ने ।
